आज देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

लोकपथ
14
Shares

काठमाडौं । वर्षासँगै आज देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना छ ।

महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बग्ने साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ । यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ताप्लेजुङदेखि डडेलधुरासम्मका विभिन्न जिल्लामा बग्ने नदी तथा खोलामा वर्षाका कारण पानीको बहाव उल्लेख्य बढ्न सक्छ ।

यसैगरी, केही ठूला नदीमा पनि पानीको सतह बढ्ने पूर्वानुमान गरिएको छ । आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कन्काई, कमला र तिनका सहायक नदीमा पानीको सतह सतर्कता तह नजिक पुगेको छ ।

पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदी तथा तिनका सहायक नदीमा भने पानीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

वर्षा जारी रहेकाले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?