केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

लोकपथ
84
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

बुधबार निधन भएका शर्माको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्तिम बिदाइका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले शर्माप्रति सलामी अर्पण गरेको थियो । शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ ।

अन्तिम श्रद्धाञ्जलीका लागि शिक्षामन्त्री पोखरेल, मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा लगायतका पदाधिकारी पशुपति आर्यघाट पुगेका थिए ।

यसअघि शिक्षा मन्त्रालयमा शर्माको सम्मानमा शोक पुस्तिका राखिएको थियो । शिक्षामन्त्री पोखरेल, मन्त्रालयका सचिव चुडामणि पौडेल, प्रमुख सल्लाहकार झा तथा मन्त्रालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीले शोक पुस्तिकामा हस्ताक्षर गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शिक्षामन्त्री पोखरेलले शर्माको निधनले नेपालको शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । उनले शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौं विश्वविद्यालय परिवारप्रति मन्त्रालयका तर्फबाट समवेदना व्यक्त गरे ।

मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने शर्माको सपना पूरा गर्न सरकार अघि बढिरहेको पनि बताए ।

उनले काठमाडौं विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान ऐन संशोधनको मस्यौदा तयार भइसकेको जानकारी दिँदै चाँडै संसद्मा विधेयक लैजाने बताए ।

नेपालको उच्च तथा प्राविधिक शिक्षाको विकासमा अग्रणी भूमिका निर्वाह गरेका शर्माले दुई दशकभन्दा लामो समय काठमाडौं विश्वविद्यालयको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा विश्वविद्यालय स्वायत्त, गुणस्तरीय र अन्तर्राष्ट्रिय पहिचानयुक्त शैक्षिक संस्थाका रूपमा विकास भएको थियो ।

बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का संस्थापक निर्देशकसमेत थिए । उनले जुम्ला, दोलखाको जिरी र धनकुटामा प्राविधिक शिक्षा सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

शर्माले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए । उच्च तथा प्राविधिक शिक्षाको विकासमा पुर्‍याएको योगदानका कारण उनलाई नेपालको शिक्षा क्षेत्रका महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?