सरुवा-बढुवाको विकृति : सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी कर्मचारीको सरुवा र बढुवामा हुने भनसुन तथा पहुँचको प्रवृत्ति रोक्न तत्काल स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाब सरुवा र बढुवाका लागि झेल्नुपरेको बताए ।

उनले सुशासन र पारदर्शिताको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि नातागोता र पहुँचका आधारमा सरुवा तथा बढुवाको आग्रह लिएर आउने गरेको बताए ।

‘राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो । सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ,’ उनले भने ।

आचार्यले आफूले विधि र पद्धतिभन्दा बाहिर गएर यस्ता आग्रह पूरा गर्न नसक्ने स्पष्ट पारे । उनले रास्वपाको वाचापत्रमा स्वायत्त सरुवा बोर्ड गठन गर्ने प्रतिबद्धता रहेको स्मरण गराउँदै सरकारले उक्त बोर्ड यथाशीघ्र गठन गर्नुपर्ने बताए ।

‘हाम्रो वाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ । जसले निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्छ । सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ,’ उनले भने ।

सरुवा र बढुवाका लागि आउने दबाबका कारण आफूलाई आगामी दसैँमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद पाउनुको सट्टा काम नभएको भन्दै सराप पो पाइने हो कि भन्ने डर रहेको भन्दै उनले व्यंग्यसमेत गरे ।

उनको अभिव्यक्तिले निजामती प्रशासनमा सरुवा तथा बढुवाका लागि हुने भनसुन र राजनीतिक पहुँचको अभ्यासबारे प्रतिनिधिसभामा पुनः बहस उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?