प्रयोगशालालाई आम्दानी र डिग्री बाँड्ने केन्द्र नबनाउ : मन्त्री पुन

लोकपथ
28
Shares

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्न नहुने बताएका छन् ।

बिहीबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथिको छलफलमा सहभागी हुँदै मन्त्री पुनले प्रयोगशालाको मुख्य काम अनुसन्धान र नवप्रवर्तन हुनुपर्ने बताए ।

उनले नेपालमा विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा बढे पनि गुणस्तरीय शिक्षाको अभाव रहेको बताए । विधि विज्ञान प्रयोगशालालाई आम्दानीको स्रोत वा डिग्री प्रदान गर्ने संस्थाका रूपमा विकास गर्दा यसको मूल उद्देश्य नै कमजोर हुन सक्ने उनको भनाइ थियो ।

मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायत अनुसन्धानमा केन्द्रित संस्थाहरूले समेत पठनपाठन र डिग्री प्रदान गर्ने काममा जोड दिनु उचित नभएको बताए ।

पठनपाठनका लागि देशभर पर्याप्त विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू रहेकाले विधि विज्ञान प्रयोगशालालाई अनुसन्धानमै केन्द्रित गर्नुपर्ने उनले बताए ।

‘विधि विज्ञान प्रयोगशालाजस्तो संवेदनशील संस्थालाई शैक्षिक प्रतिष्ठान बनाउँदा भविष्यमा पूर्ण विश्वविद्यालय बनाउने दबाब सिर्जना हुन सक्छ,’ मन्त्री पुनले भने, ‘यसले संस्थाको मूल उद्देश्यमा असर पर्न सक्छ ।’

उनले विधि विज्ञानको क्षेत्रलाई आर्थिक लाभसँग मात्र जोडेर कमजोर बनाउन नहुने भन्दै प्रयोगशालाले अध्ययन र अनुसन्धानमा सहयोग गर्न सक्ने भए पनि आफैं विश्वविद्यालयको स्वरूपमा सञ्चालन हुन नहुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?