ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ

लोकपथ
35
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन आवश्यक तयारी भइरहेको बताएका छन् ।

रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिएको बताए ।

त्यसका कारण राष्ट्रिय प्रसारण लाइनमा चाप परेको भए पनि नेपाल विद्युत् प्राधिकरणले आपूर्ति सन्तुलित राखिरहेको उनको भनाइ छ ।

उनले जाडोयाममा विद्युत्को माग बढ्ने भएकाले त्यसलाई ध्यानमा राखेर अहिले नै आवश्यक तयारी भइरहेको बताए ।

‘अब जोडिने प्रसारण लाइन कस्तो छ, अन्य ठाउँमा पनि सम्भावित जोखिम के छन् र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जाडो महिनामा पनि अहिले जस्तै विद्युत् आपूर्ति सन्तुलित राख्न हामीले तयारी गरिरहेका छौँ ।’

प्रसारण लाइनबाट केही विद्युत् बाहिर रहेकाले आगामी दिनमा समस्या आउन सक्ने विषयमा पनि काम भइरहेको उनले बताए । उनका अनुसार जाडोयामका दुई महिनामा विद्युत्को माग बढी हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न प्राविधिक तयारी भइरहेको छ ।

मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीपछि २४ घण्टाभित्रै विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिए । रसुवामा पनि हालै विद्युतीकरण गरिएको भन्दै उनले आगामी सुक्खायाममा विद्युत् आपूर्ति कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्राविधिक रूपमा तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?