भदौमा घरजग्गा कारोबारबाट ३ अर्ब ९१ करोड राजस्व संकलन

लोकपथ
21
Shares

काठमाडौं । २०८३ सालको भदौमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १५८ वटा मालपोत कार्यालय तथा स्थानीय तहबाट उक्त राजस्व संकलन भएको हो ।

भदौमा सबैभन्दा धेरै राजस्व रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकरबाट उठेको छ । रजिष्ट्रेशन दस्तुरबाट १ अर्ब ९० करोड २१ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, सेवा करबाट १६ करोड ८२ लाख, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट २ करोड ३ लाख तथा अन्य शुल्कबाट करिब २ करोड ८० लाख रुपैयाँ उठेको छ ।

कुल राजस्वको ५५ प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकाबाट संकलन भएको छ । उपत्यकाका ९ वटा कार्यालयबाट मात्रै २ अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।

उपत्यकामा भक्तपुर मालपोत कार्यालयले सबैभन्दा बढी ४९ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसपछि लगनखेलबाट ३८ करोड ८० लाख, कलंकीबाट ३७ करोड १२ लाख, चावहिलबाट ३३ करोड ५५ लाख र डिल्लीबजारबाट ३१ करोड ४३ लाख रुपैयाँ संकलन भएको छ ।

उपत्यकाबाहिर पोखरा मालपोत कार्यालयले सबैभन्दा बढी १६ करोड ८३ लाख रुपैयाँ राजस्व उठाएको छ । इनरुवाबाट १५ करोड ४२ लाख र बुटवलबाट ११ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ ।

यता, हिमाली तथा विकट पहाडी क्षेत्रमा भने घरजग्गा कारोबार न्यून देखिएको छ । बाजुराबाट २२ हजार ६३३ रुपैयाँ, सिर्दिवासबाट २९ हजार ४०० रुपैयाँ र झोताभैरवबाट ४५ हजार ७२८ रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।

विभागको तथ्यांकले घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा काठमाडौं उपत्यकाको हिस्सा ठूलो रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?