काठमाडौं । काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा.दीपक कुँवर नियुक्त भएका छन् ।
विश्वविद्यालय कार्यकारी परिषद्को हालै सम्पन्न बैठकले प्रा.डा कुँवरलाई डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. कुँवरले केयु तथा चिकित्सा विज्ञान अध्ययन संस्थानका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।
डा. कुँवर यसअघि चिकित्सा विज्ञान अध्ययन संस्थानको सहायक डिनका रूपमा कार्यरत थिए । संस्थानको प्राध्यापक परिषद्को संस्थापक सचिव तथा निवर्तमान अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
नयाँ डिन कँवरसामु अब संस्थानको विद्यमान शैक्षिक उपलब्धिलाई थप सुदृढ बनाउँदै बदलिँदो चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको आवश्यकता अनुसार संस्थानलाई अघि बढाउने जिम्मेवारी आएको छ ।
यसअघि प्रा.डा मनोज हुमागाईले उक्त जिम्मेवारीमा रहेका थिए ।
चिकित्सा शिक्षा पछिल्लो समय कक्षाकोठामा हुने अध्यापनमा मात्र सीमित नभई वैज्ञानिक अनुसन्धान, प्रयोगात्मक अभ्यास, आधुनिक प्रविधिको प्रयोग र स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा विकास भइरहेको छ ।
यस्तो अवस्थामा नयाँ नेतृत्वका लागि विद्यार्थीलाई गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्नुका साथै अनुसन्धानमुखी शैक्षिक वातावरण निर्माण गर्नु महत्वपूर्ण कार्यभार हुनेछ ।
त्यसैगरी चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न अध्यापनसँगै अनुसन्धान र व्यवहारिक अभ्यासलाई समान रूपमा अघि बढाउने प्रा. डा कुँवरले प्रतिवद्धता जनाएका छन् ।
विद्यार्थीले प्राप्त गर्ने सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने वातावरण निर्माण गर्नु,आधुनिक चिकित्सा प्रविधिलाई शिक्षण प्रणालीसँग जोड्नु तथा अनुसन्धानका नयाँ क्षेत्र पहिचान गर्नु संस्थानका महत्वपूर्ण प्राथमिकता हुने कुँवरले बताए ।
विश्वविद्यालयअन्तर्गतका शिक्षण अस्पताल तथा स्वास्थ्य संस्थासँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीलाई पर्याप्त प्रयोगात्मक अभ्यासको अवसर उपलब्ध गराउने विषय पनि नयाँ नेतृत्वका लागि महत्वपूर्ण हुनेछ । स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै चिकित्सा शिक्षा र अनुसन्धानबीचको सम्बन्धलाई बलियो बनाउने विषयले पनि संस्थानको आगामी कार्यदिशामा महत्व पाउनेछ ।
डा.कुँवरको लामो शैक्षिक अनुभव तथा संस्थाभित्र विभिन्न जिम्मेवारीमा रहेर हासिल गर्नुभएको प्रशासनिक र नेतृत्व अनुभव कुँवरको लागि नयाँ जिम्मेवारीका लागि महत्वपूर्ण आधारका रूपमा रहेको छ ।
काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानले नेपालमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
संस्थानबाट उत्पादित चिकित्सक तथा स्वास्थ्य जनशक्तिको गुणस्तर देशको स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोडिने भएकाले शैक्षिक उत्कृष्टता कायम गर्नु संस्थानको महत्वपूर्ण जिम्मेवारी हो ।
यसै पृष्ठभूमिमा प्रा।डा।दीपक कुँवरको डिनमा नियुक्तिलाई संस्थानको आगामी शैक्षिक तथा प्राज्ञिक यात्राका लागि महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया