हामीले खोजेको नेपाल : हामीले खोजेको संविधान

लोकपथ
91
Shares

काठमाडौं । लामो संघर्षपछि देशले संविधान पाएको दशक बित्यो । कसैले उपलब्धी मानेको, कसैले कालो दिन भनेर यसलाई पुर्ण रुपमा स्विकार नगरेको दिन असोज ३, अर्थात् राज्यले मनाउने संविधान दिवस ।

संविधान एउटा परिवर्तनशील दस्तावेज हो । त्यसैले त यसमा संशोधन गर्न सकिने बुँदाहरु राखिएको छ । कसैलाई ०७२ को संविधान उत्कृष्ट लागिरहेको छ, कसैलाई यही संविधान कलुसित पनि लागिरहेको छ।

संविधान संशोधन गर्न मिल्ने र सकिने दस्तावेज हो।यसमा सच्याउनुपर्ने कुरा थुप्रै छन र केही राम्रा कुराहरु पनि छन्, ती सबैलाई समेटेर लैजाँदा सबै नेपालीलाई जोड्ने संविधान यसैलाइ पनि वनाउन सकिन्छ।

हामीले खोजेको संविधान राष्ट्रको मौलिक पहिचान, जनताको अधिकार, राष्ट्रिय एकता, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई एकै सूत्रमा बाँध्ने राष्ट्रिय सहमतिको दस्तावेज हो ।

हामी राजसंस्थासहितको बहुदलीय प्रजातन्त्र, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र, प्रदेशविहीन बलियो केन्द्र र अधिकारसम्पन्न सशक्त स्थानीय तह, जनउत्तरदायी तथा प्रभावकारी शासन प्रणाली, सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने सुधारिएको निर्वाचन प्रणाली, विधिको शासन, र भ्रष्टाचारमुक्त राज्य चाहन्छौँ ।

हाम्रो दृष्टिमा राजसंस्था शासन गर्ने संस्था होइन, राष्ट्रको अभिभावकीय, साझा र एकताको प्रतीक संस्था हो । नेपालको मौलिक पहिचान र ऐतिहासिक विरासतलाई संरक्षण गर्दै परम्परा र आधुनिकताको उचित समन्वय, तथा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई केन्द्रमा राख्ने व्यवस्था हाम्रो राजनीतिक चिन्तन हो ।

यसर्थ, वर्तमान संविधानप्रति हाम्रो आलोचनात्मक समर्थन र आवश्यकता अनुसार राजनीतिक सहकार्य हो ।

संविधान संशोधनमार्फत राष्ट्रको मौलिक पहिचान, राजसंस्था, सनातन हिन्दु राष्ट्र, सुदृढ राष्ट्रिय एकता, प्रभावकारी शासन र जनताको वास्तविक प्रतिनिधित्वका विषयहरू समेट्न सकिएमा वर्तमान संविधानलाई व्यापक राष्ट्रिय सहमतिको साझा दस्तावेज बनाउन सकिन्छ ।

संविधानलाई केवल कागजमा सुरक्षित राखेर होइन, जनताको भावना र राष्ट्रको आवश्यकतासँग जोडेर सुरक्षित राख्न सकिन्छ । हो, संविधानप्रति असन्तुष्टि राख्नेहरुले पनि त्यही भनिरहेका छन् र हामी जो राजसंस्थाका हिमायतीहरु पनि यही भनिरहेका छौँ । कि, संविधानमा लेखिएका कुराहरु केवल कोरा अक्षर मात्र नबनोस्, ती अक्षरहरुले जनताको समस्या समाधान गर्ने मार्ग बनोस् ।

जब संविधानमा सबैले आफ्नो पहिचान, अधिकार र भविष्य देख्न सक्छन्, तब मात्र त्यसप्रति सबैको अपनत्व निर्माण हुन्छ । हामी संविधानको विरोधमा होइनौँ- हामी संविधानलाई अझ समावेशी, स्थिर, जनमुखी र राष्ट्रिय भावनाको साझा दस्तावेज बनाउने पक्षमा छौँ । राष्ट्र पहिलो–जनता सर्वोच्च । भोलि असोज ३, संविधान दिवसको सबैमा शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?