काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।
तीनदिने भारत भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
भ्रमणको दोस्रो दिन आज बिहान ९ बजे अर्थमन्त्री वाग्ले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने कार्यक्रममा उनले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।
त्यसैगरी, आजै अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा.एस.जयशङ्करसँग भेटवार्ता गर्नेछन् । भेटवार्ता साँझ ५ बजेका लागि तय गरिएको छ ।
अर्थमन्त्री वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि सहभागी हुनेछन् । भारत मण्डपममा हुने उक्त कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे उच्चस्तरीय छलफल हुनेछ ।
अर्थमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा। सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।
भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चस्तरीय भेटघाट सकेर अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया