कांग्रेस १५औँ महाधिवेशनको तयारी अघि बढिसकेको छ : प्रकाशमान सिंह

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५औँ महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको बताएका छन् ।

शुक्रबार लौह पुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य-मान्यताअनुसार महाधिवेशन सम्पन्न गरिने बताए ।

उनले कांग्रेसले विशेष महाधिवेशन चाहेको नभई १४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनतर्फ विधिसम्मत रूपमा अघि बढ्ने बताए । व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न पार्टीको विधि र नियम मिच्न नहुने उनको भनाइ थियो ।

कांग्रेसको विधानले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष तोकेको र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको सिंहले बताए । थपिएको एक वर्षको अवधि यही मंसिरमा पूरा हुने उनको भनाइ छ ।

‘१४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनको तयारीतर्फ हामी अगाडि बढिसकेका छौँ । कांग्रेसको चाहना विशेष महाधिवेशन थिएन,’ सिंहले भने ।

राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेण्डा मुख्य हुने भन्दै उनले न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताए । अदालतले न्यायिक विषयमा आफ्नो भूमिका निर्वाह गर्ने र राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

सिंहले कांग्रेसको इतिहासमा राजनीतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उदाहरणका रूपमा बीपी कोइराला र गणेशमान सिंहको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई स्मरण गरे । २०३३ सालमा राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि उनीहरू निर्वासनबाट नेपाल फर्किएको र त्यसपछिका राजनीतिक घटनाक्रमले २०४६ सालको परिवर्तनको आधार तयार गरेको उनले बताए ।

उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा पञ्चायतले जिते पनि कांग्रेस आफ्नो लोकतान्त्रिक मान्यताबाट पछि नहटेको बताए । त्यसकै निरन्तरतामा २०४६ सालमा परिवर्तन सम्भव भएको उनको भनाइ थियो ।

कांग्रेसले विगतदेखि नै जनताको अधिकार पुनर्बहालीका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै सिंहले अहिले पनि पार्टीभित्र लोकतान्त्रिक मान्यता र विधिको पालना गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।

उनले नेपालको संविधानले एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्मको अवधि साढे पाँच वर्षभन्दा बढी हुन नहुने व्यवस्था गरेको भन्दै संविधानको भावना र मर्मअनुसार पार्टीको प्रक्रिया अघि बढाइने बताए ।

विधिको शासन स्थापित गर्न, जनताको अधिकार सुरक्षित राख्न र राष्ट्रको हितको रक्षा गर्न कांग्रेस प्रतिबद्ध रहेको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?