भोलिदेखि पुरानै मूल्यमा एलपी ग्यास पाइने

लोकपथ
70
Shares
ग्यासको सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा पाइने भएको छ ।

कृष्णभीरमा वैकल्पिक सडक निर्माण गरी दुईतर्फी यातायात सञ्चालनमा आएसँगै ग्यासको ढुवानी सहज हुने भएकाले पुरानै मूल्यमा ग्यास बिक्री गर्न लागिएको हो ।

यसअघि कृष्णभीरमा सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपरेपछि उद्योगीहरूले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ ३८ पैसा अतिरिक्त लागत जोडेर ग्यास बिक्री गर्दै आएका थिए ।

अब भने नेपाल आयल निगमले ग्यासको मूल्य साविककै प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गर्ने निर्णय गर्न लागेको छ । निगमको निर्णयसँगै शुक्रबारदेखि उपत्यकामा एलपी ग्यास पुरानै मूल्यमा बिक्री हुने ग्यास उद्योगीहरूले बताएका छन् ।

नेपाल ग्यासका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्टले कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ढुवानी सहज भएकाले शुक्रबारदेखि पुरानै मूल्यमा ग्यास बिक्री वितरण गरिने जानकारी दिए ।

उनका अनुसार निगमले मूल्यसम्बन्धी निर्णय सार्वजनिक गरेपछि ग्यास उद्योगहरूले आफ्ना डिलर तथा डिस्ट्रिब्युटरलाई पनि सोहीअनुसार बिक्री गर्न सूचना पठाउनेछन् ।

बजारमा देखिएको ग्यास अभावबारे भट्टले कृष्णभीरको सडक अवरुद्ध हुनु र हाफ सिलिन्डरको विषयमा देखिएको अन्योलका कारण केही चाप परेको बताए । अब नियमित रूपमा ग्यास बुलेट आउन थालेपछि १० देखि १५ दिनभित्र बजारमा ग्यासको आपूर्ति पूर्ण रूपमा सहज हुने उनको भनाइ छ ।

गत भदौमा आएको बाढी र नदी कटानका कारण कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउने ग्यास बुलेटसहित अत्यावश्यक वस्तु बोकेका ठूला सवारीसाधन प्रभावित भएका थिए ।

क्षतिग्रस्त सडक नजिकैको ढिस्को काटेर वैकल्पिक ट्र्याक निर्माण गरिएपछि बिहीबारदेखि कृष्णभीरमा दुईतर्फी यातायात नियमित सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?