भोटेकोशी बाढी व्यवस्थापनका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन हुने

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्र गठन गरिने भएको छ ।

बुधबार भएको सर्वदलीय छलफलमा आगामी सात दिनभित्र संयन्त्र गठन गर्ने सहमति भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीका अनुसार बैठकमा सर्वदलीय संयन्त्र गठनसँगै भोटेकोशी बाढी घटनाबारे संसदीय समितिमार्फत छानबिन गर्ने विषयमा पनि छलफल भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले सात दिनभित्र संयन्त्र गठन गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार बैठकमा ‘सनसेट ल’ कार्यान्वयन गर्ने विषय पनि छलफलमा आएको थियो ।

रसुवामा भदौ १० गते ठूलो बाढी आएपछि त्यसको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए ।

बैठकमा सरकारलाई उद्धारदेखि पुनर्स्थापनासम्म आवश्यक सहयोग र समन्वय गर्न सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारिएको थियो । उक्त प्रस्तावमा सहभागी दलहरूले सहमति जनाएका थिए ।

त्यसपछि जारी गरिएको १० बुँदे संकल्पमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा आवश्यक सुधार तथा सरकारी कामको निरन्तर अनुगमन र सल्लाहका लागि संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो ।

प्रस्तावित संयन्त्रलाई आपत्कालीन अवस्थामा मात्र सीमित नराखी विपद् न्यूनीकरण तथा पूर्वतयारी, दिगो विकास र दीर्घकालीन नीतिगत सुधारमा समेत प्रयोग गर्ने अवधारणा अघि सारिएको छ ।

यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो । तर त्यसबेला संयन्त्र गठन हुन सकेको थिएन । बुधबारको बैठकले भने संयन्त्र गठनका लागि सात दिनको समयसीमा नै तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?