महाधिवेशनबारे कांग्रेसमा विवाद चुलियो, इतर समूहको छुट्टै माग

लोकपथ
343
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद थप चुलिएको छ ।

विशेष महाधिवेशनपछि शेरबहादुर देउवा पक्षले छुट्टै गतिविधि गरिरहेका बेला आगामी असोजको दोस्रो साताबाट बोलाइएको बैठकमा समेत इतर पक्ष सहभागि नहुने भएको छ ।

आज बसेको इतर पक्षको छलफल र त्यसपछि भएको पत्रकार सम्मेलनमा आगामी असोज ३ गतेबाट सुरु हुन लागिएको कांग्रेसको १५औँ महाधिवेशनमा सहभागि नहुन भनिएको छ ।

अहिले इतर पक्षको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाले असोज ३ गतेबाट सुरु हुन लागिरहेको वडा अधिवेशनमा सहभागि नहुन भनेका हुन् । साथै आगामी मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनमा सहभागि हुन निर्देशन दिएका छन् ।

‘यस अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन हार्दिक अपिल गर्दछौं । आश्विन ३ गतेवाट विधि प्रकृया मिचि शुरु गर्ने भनिएको तथाकथित अधिवेशन र महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं । १४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसो त संस्थापन समूहको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएको केन्द्रीय समितिलाई १५औँ महाधिवेशनको आयोजक समितिमा मान्यता दिने निर्णय गरेको थियो । तर इतर समूहले त्यसलाई मान्यता नदिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?