हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा गौशाला प्रहरी बिटको हिरासत भवन हस्तान्तरण

लोकपथ
0
Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरेको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

आइतबार आयोजित कार्यक्रममा कम्पनीले नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण गर्न नेपाल प्रहरीले गरेको अनुरोधपछि कम्पनीले भवन निर्माण गरेको जनाएको छ ।

कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले समुदाय, सार्वजनिक सुरक्षा र राज्यको सेवा प्रवाहमा निजी क्षेत्रले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताइन् । उनले सुरक्षा, स्वास्थ्य, शिक्षा तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

भवन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ, सहायक प्रमुख कार्यकारी अधिकृत सुदर्शन श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजकुमार खड्कालगायत नेपाल प्रहरी तथा कम्पनीका अधिकारीहरूको उपस्थिति थियो ।

कम्पनीले नवनिर्मित भवनबाट प्रहरीलाई दैनिक जिम्मेवारी अझ व्यवस्थित र प्रभावकारी रूपमा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?