बाढीको जोखिम न्यूनीकरण गर्न काठमाडौं महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने

लोकपथ
42
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वर्षाको पानी सङ्कलन गरी जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको जानकारी दिइन् ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको बताइन् । उनले सहरी बाढीको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइन् ।

उनका अनुसार सहरी बाढीको समस्या समाधानका लागि अध्ययन भइरहेको छ । विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण उत्पन्न समस्या सुधार गर्दै जानुपर्ने उनको भनाइ छ ।

डंगोलले करिब तीन दशकअघि सुरु भएका सहरी समस्याहरू अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको बताइन् । वर्षा हुन थालेपछि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरूलाई मध्यरातमै फिल्डमा खटिनुपर्ने अवस्था रहेको उनले उल्लेख गरिन् ।

‘रिचार्ज काठमाडौं’ अभियानअन्तर्गत वर्षाको पानी सङ्कलन, जमिनमा पुनर्भरण तथा पानीको उचित व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । अहिले नै गर्न सकिने कामबाट अभियान सुरु गरी काठमाडौंलाई बाढीको जोखिमबाट सुरक्षित र व्यवस्थित बनाउने महानगरको लक्ष्य छ ।

डंगोलले दीर्घकालीन समाधानका लागि भइरहेको अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने बताइन् । पछिल्लो समय वर्षापछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?