एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी) को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।

काठमाडौंमा बढ्दै गएको पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको हो ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एनएसी भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न अनुमति दिन संघीय सरकारसँग विशेष अनुरोध गरिएको बताइन् ।

उनका अनुसार एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माण हुन सकेमा विशेषगरी काठमाडौंको कोर एरियामा रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्नेछ ।

डंगोलले काठमाडौंभरको पार्किङ समस्या र व्यवस्थापनबारे महानगरपालिकाले अध्ययन गरिरहेको जानकारी दिइन् । विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उनले बताइन् ।

काठमाडौंको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नुभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिइन् । बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरपालिकाले थप व्यवस्थित र प्रणालीगत ढङ्गले काम गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?