संविधान रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक : माधव नेपाल

लोकपथ
0
Shares
फाइल तस्बिर

पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संवैधानिक अधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीच कार्यगत एकता, सहकार्य र समन्वय हुनुपर्ने बताए ।

नेपालले संविधान सामान्य परिवर्तनबाट निर्माण नभएकाले यसको रक्षा गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखे । जनतालाई सुशासनसहितको सेवा प्रवाह गर्न सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

आदिवासी महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायका संवैधानिक अधिकारको संरक्षण गर्नु सबैको दायित्व रहेको उनले बताए ।

वर्तमान सरकारप्रति जनताको तीव्र आकांक्षा रहेकाले जनताको चाहनाअनुसार काम गर्नुपर्नेमा उनले जोड दिए । देश विपद्मा रहेकाले हिमाली बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

खोजी तथा उद्धार कार्यमा सरकारले उपलब्ध स्रोतसाधन परिचालन गर्नुका साथै विभिन्न संघसंस्था र राजनीतिक दललाई समेत खटाउनुपर्ने नेपालले बताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?