रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा असनचोकमा दीप प्रज्वलन

लोकपथ
35
Shares

काठमाडौं । रसुवामा आएको बाढीबाट दिवंगत भएकाहरूको सम्झनामा काठमाडौंको असन चोकमा दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रवादी नागरिक समाजले शनिबार आयोजना गरेको कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै, बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि प्रार्थना गरिएको थियो ।

समाजका अध्यक्ष चन्द्रबहादुर रामदामले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे । उनले विपद्को समयमा सरकारको मात्रै भर नपरी स्वदेश तथा विदेशमा रहेका सबै नेपाली उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने बताए ।

रामदामले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिन आग्रह गरे । घरबारविहीन भएकाहरूको तत्काल पुनःस्थापना, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार, राजनीतिक दल, अभियन्ता र आम नागरिक एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

समाजकी उपाध्यक्ष लक्ष्मी ओलीले विपद् व्यवस्थापन सरकारको मात्रै दायित्व नभएको भन्दै उद्धार तथा राहतमा नागरिकस्तरबाट समेत सक्रिय सहभागिता आवश्यक रहेको बताइन् । उनले उद्धार कार्यमा विज्ञ जनशक्तिको थप परिचालन गर्न आग्रह गर्दै बाढी प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र खानपानको जिम्मेवारी राज्य तथा सहयोगी निकायले लिनुपर्ने बताइन् ।

ओलीले विपद्को समयमा सामाजिक सञ्जालमार्फत गालीगलौज तथा साइबर बुलिङ नगर्न आग्रह गर्दै राजनीतिक दल, युवा, स्वयंसेवक र आम नागरिकलाई उद्धार तथा राहत अभियानमा एकताबद्ध हुन अपिल गरिन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीमा ठूलो संख्यामा नागरिक बेपत्ता भएका छन् भने १ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?