काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिम सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै उनले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले बाढी, पहिरो तथा अन्य विपद्को जोखिम दुवै देशका लागि साझा चुनौती भएको बताए ।
जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नहुने भन्दै राजदूत झाङले विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेको बताए ।
उनले विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच जल तथा मौसम निगरानी प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै, पूर्वसूचना प्रणाली, अत्याधुनिक प्रविधि र संयुक्त उद्धार अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए ।
राजदूत झाङका अनुसार गत अगस्ट २६ मा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई २४ लाख अमेरिकी डलर नगद सहयोग गरेको थियो । चीनले ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगालगायत सामग्रीसमेत उपलब्ध गराएको उनले जानकारी दिए ।
विपद् व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २४ जना विज्ञ नेपाल पठाइएको पनि उनले बताए ।
आगामी दिनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम थप बढ्न सक्ने भन्दै उनले पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार क्षमता बढाउनुपर्ने बताए । साथै, हरित विकास, स्वच्छ ऊर्जा, वातावरण संरक्षण र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा नेपाल–चीन सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया