काठमाडौं । भदौ १० गतेको रसुवा बाढी जो अकल्पनीय रह्यो । अहिलेसम्म १४ सय हाराहारीको ज्यान गएको तथ्यांक सरकारसँग छ, अझै ५ हजार बढी बेपत्ताको सूची छ । तर त्यो भन्दा धेरै जनको जीवन गुमेको हुनसक्ने अनुमान गरिएको छ, सरकारले आगामी दिनमा त्यसको यकिन तथ्यांक सार्वजनिक गर्ला नै । यसबिचमा कतिको भौतिक क्षति भयो भन्ने कुनै तथ्यांक छैन ।
यस्तो कहालीलाग्दो महाविपत्ति जसले न धनी, न गरिब, न ठूलो न सानो सबैलाई बिल्लिबाठ बनाएको छ । जनताको सेवा गर्ने कतिपय जनप्रतिनिधिहरु नै बाढीमा बगेका छन्, युवायुवती, वृद्धवृद्धा, बालबालिका तथा महिला, जो बाढीबाट प्रभावित नभएको होस्, कोही अछुतो छैन ।
रसुवा हुँदै नुवाकोट र धादिङसम्म क्षति पुर्याएको भदौ १० को बाढीले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा नराम्रो असर पुर्यायो । रसुवाका कतिपय जनप्रतिनिधिहरु अझै सम्पर्कविहीन छन् । धेरैको घरबारदेखि परिवार र आफन्त गुमेका छन् ।
बाढीबाट किसान पीडित छन्, व्यवसायी पीडित छन्, सर्वसाधारण पीडित छन्, अनि आफैँ पीडित छन् स्थानीय तहका जनप्रतिनिधिहरु पनि ।
बाढीबाट प्रभावित जनप्रतिनिधिहरुमध्ये एक हुन् बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल । दाहाल बेलकोटगढी नगरपालिका वडा नं ८ काँशीटारका बासिन्दा हुन् । बाढीले प्रभावित त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा पर्ने काँसीटारमा धेरै घर, खेतबारी, व्यवसायदेखि व्यक्तिका निजी सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । उक्त भेगमा प्रभावितमध्येका एक हुन् उपप्रमुख दाहाल पनि ।
दाहालका अनुसार आफ्नो करिब ९ रोपनी खेत, १२ वटा व्यवसायीक सटर, दुई वटा गोदामसहित आफू बस्दै आएको घर समेत बाढीको चपेटामा परेको छ । गल्छी त्रिशूली सडकबाट माथि रहेको उनको घर समेत आधा भाग डुबेको छ ।
‘म बस्ने घर, खेतीपाती गर्ने जग्गा, व्यवसायीक सटरहरु लगायत करोडौँको क्षति बाढीले पुर्याएको छ,’ उनी भन्छन् ।

आफैँ बाढी प्रभावित भए पनि जनप्रतिनिधि भएको नाताले आफ्नो भन्दा नागरिकहरुको उद्धार र राहतमा लाग्नु कर्तव्य ठानेको उनी बताउँछन् ।
‘म आफैँ बाढी प्रभावित हुँ, तर यो बेलामा मैले आफ्नो लागि भन्दा पनि मलाई निर्वाचित गराउने मेरा नगरवासीको उद्धार र राहतमा लाग्नु मेरो दायित्व हो । म बाढीको दिनबाट निरन्तर उहाँहरुको उद्धार र राहतमा लागिरहेको छु,’ दाहाल भन्छन् ।
बाढीबाट बेलकोटगढी नगरपालिकाको तल्लो तटीय क्षेत्रमा पर्ने वडा नं ५, ७ र ८ रहेका छन् । वडाध्यक्ष सुरेशलाल चित्रकारले दिएको तथ्यांक अनुसार वडा नं ८ मा मात्रै १२८ भन्दा बढी घरधुरी प्रभावित भएका छन् । वडाले संकलन गरेको तथ्यांक अनुसार १२८ परिवार बाढी प्रभावित भए पनि अझै बढ्नसक्ने बताइएको छ ।
त्यसो त नगरपालिकाले बाढी प्रभावित नागरिकका लागि तत्काल २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । यता खेतीयोग्य जमिन गुमाएका किसान परिवारलाई १० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ ।
हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका नागरिकहरुलाई थप व्यवस्थित बनाएर राख्ने योजनामा स्थानीय सरकार रहेको उपप्रमुख दाहालले बताए ।

अहिले देशका विभिन्न स्थानबाट बाढी प्रभावितहरुका लागि राहत पुगेको छ तर अब राहत भन्दा पनि पुननिर्माण र दिगो बस्ती व्यवस्थापनमा लाग्नुपर्ने उनको जोड रहेको छ ।
‘अहिले राहतकै लागि त्यस्तो समस्या छैन । देशविदेशबाट सहयोगी मनहरुले सहयोग गरिरहनुभएको छ । तर अब विपद्बाट प्रभावितहरुको दिगो व्यवस्थापनमा लाग्नुपर्ने देखिन्छ,’ उनी भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया