काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८३ भदौ २४ गते बिहान ११ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३६७ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्। काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।
हालसम्म १०२ वटा शवको सनाखत गरी परिवारलाई बुझाइएको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित डीएनए परीक्षणका लागि नमुना दिन सकिने प्राधिकरणले जनाएको छ ।
५ हजारभन्दा बढी सम्पर्कविहीन
बाढी प्रभावित क्षेत्रबाट करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै रसुवाबाट २ हजार ८६० जना सम्पर्कविहीन छन् ।
त्यस्तै, नुवाकोटबाट १ हजार ७८७ जना र विदेशी पर्यटकतर्फ करिब ५८७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । प्राधिकरणले यो तथ्यांकमा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिसमेत समावेश हुन सक्ने जनाएको छ। तथ्यांक रुजु गर्ने काम भइरहेको छ ।
१३ हजारभन्दा बढीको उद्धार
बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। विभिन्न १० अस्पतालमा ३२९ जनाको उपचार भएकामा २५२ जना डिस्चार्ज भइसकेका छन् ।
उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा २१ हजार १८५ सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यसमध्ये नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना छन् ।
उद्धार गरिएका तथा विस्थापितलाई राख्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती सेन्टरमा ३ हजार ६२८ जना रहेका छन् ।
सरकारले १६ करोड रुपैयाँ राहत पठायो
सरकारले प्रभावित जिल्लामा तत्काल राहतका लागि १६ करोड रुपैयाँ नगद पठाएको छ । रसुवा र नुवाकोटमा १–१ करोड, धादिङमा ५० लाख तथा १५ वटा प्रभावित पालिकामा १३ करोड ५० लाख रुपैयाँ पठाइएको छ ।
सडक तथा हवाइमार्गबाट खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने काम जारी रहेको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा हाल ४९ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १५ हजार लिटर हवाइ इन्धन मौज्दात रहेको छ । यस्तै, ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको छ ।
बाढी प्रभावितमा देखिएको मानसिक तथा मनोसामाजिक समस्या सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति पनि परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया