देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग

लोकपथ
91
Shares
तस्बिर : विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटमा बेलिब्रिज बन्दै

नुवाकोट । भोटेकोशी–त्रिशुली बाढीले सबै पुल बगाएपछि नुवाकोट र रसुवाका त्रिशुली वारी र पारीको सम्बन्ध विच्छेद भएको छ ।

यसअघि शिरखाली नयाँ पुल, देवीघाटको झोलुङ्गे पुल, बुहुनीबेशीको मध्यपहाडी लोकमार्गको पुल, देवीघाट जलविद्युत् आयोजनाको पुल र गौरीबेशीको पुल त्रिशुलीले बगाएसँगै त्यस क्षेत्रका स्थानीय मर्कामा छन् ।

देवीघाट र त्रिशुली गुम्बामा तुइन बनाइए पनि आवागमन अत्यन्तै कष्टकर बनेको छ ।

यस्तोमा नुवाकोटको अधिकांश भेगका लागि पायक पर्ने स्थानमा अस्थायी पुल र झोलुङ्गे पुल निर्माणका लागि स्थानीयले माग गरेका छन् । नुवाकोटको देवीघाट क्षेत्रलाई केन्द्र बनाएर त्रिशुली नदीमा अस्थायी पुल राख्न सके तारकेश्वर गाउँपालिका, विदुर नगरपालिकाका ३,६, १२ वडा र किस्पाङ तथा मेघाङ जोड्न सकिने छ । यस्तै धादिङको खनियाँबास र रुबी भ्यालीसम्मका स्थानीयले लाभ पाउने छन् । त्रिशुली नदि पारिको सबै सडक संरचना तन्दुरुस्त रहेकाले देवीघाटमा अस्थायी पुल निर्माण उपयुक्त हुने स्थानीय सागर रिमाल बताउँछन् ।

विदुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष बद्री रिमालले पनि शिरखालीमा बगाएको नयाँ पुल भएकै स्थानमा पुल राख्न सकिनेबारे छलफल भइरहेको जानकारी दिए ।

त्यहाँको अवस्था अध्ययन गरेर त्यसभन्दा माथि देवीघाट बजार आसपास वा मध्यपहाडी लोकमार्गको बुहुनीबेशीसम्मको कुनै एक स्थानमा पुल राख्दा जिल्लाको उत्तर दक्षिणी क्षेत्रका नागरिकले राहत पाउने उहाँको भनाइ छ । त्यस्तै देवीघाट जलविद्युत् आयोजनाको पुरानो पुल भएको स्थानमा पनि पुल राख्न सकिने स्थानीय प्रकाश अर्याल बताउँछन् ।

गौरिबेशीको पुल बगाएको स्थानमा पनि पुल राख्न सकिने देखिएको छ ।

मध्यपहाडी लोकमार्गको बुहुनीबेशीमा रहेको पुलको एउटा खम्बा नदिको बिचमा देखिएको छ । त्यहाँ अस्थायी पुल राख्न सकिनेबारे अध्ययन भइरहेको छ । त्रिशुली बजारमा पनि एउटा अस्थायी पुल र झोलुङ्गे पुल राख्नेबारे अध्ययन भइरहेको छ ।

शिरखाली,कुमलटार, चैनपुर, बुहुनीबेशी, मुलथला, गौरिबेशी, पोखरीथोक, भट्टगाउँ, खड्गभञ्ज्याङ,भमरा, दाङसिङ्, गोरस्याङ, कार्तिकै,कालिमाटी, दर्शनटार लगायतका स्थानिय अहिले त्रिशुली नदिमा पुल नहुँदा चरम समस्यामा परेका छन् । देवीघाटको तुइन तर्न दैनिक सयौं सर्वसाधारणको लाइन लाग्ने गरेको छ । यस्तोमा अस्थायी समाधानका लागि तत्काल राज्यले विकल्प दिनुपर्ने स्थानियको भनाइ छ ।

देवीघाट बजारदेखि देवीघाट जलविद्युत् आयोजनाको विद्युत् गृह सिंचाई आसपासको क्षेत्रसम्म एउटा अस्थायी पुल र दिर्घकालिन रणनीतिक योजना ल्याउन स्थानियले सरकारसँग माग गरेका हुन् । त्रिशुली पारिका अधिकांश गाउँमा किसानले दुग्ध उत्पादनका लागि पशु पालन गरेका छन् । यस्तै कुखुरा र खसी बाख्रा पालन गरेका किसानलाई अहिले पशु पैक्षी पालनमा समस्या परेको छ । दाना र आहार तथा उपचारका लागि तत्काल अस्थायी पुल निर्माणमा राज्यका तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनीहरुको माग छ ।

पारि सडक सञ्जाल भएपनि त्रिशुली पारि जाने उपाय नहँदा स्थानियका उपज बारीमै कुहीने र पशु चौपायलाई खुवाउने वस्तुको चरम अभाव भएको छ । घाँस काट्ने बारी र खेत बगाएपछि किसानलाई ति चौपायालई के खुवाउने भन्ने चिन्ता थपिएको छ । सरकारले तत्काल त्रिशुली पार गर्ने अस्थायी व्यवस्थापन गर्न नसके त्यस क्षेत्रका किसान थप समस्यामा पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?