वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

लोकपथ
42
Shares

काठमाडौं । हालैको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।

विपद्का कारण वर्ल्डलिंकको नेटवर्क तथा पूर्वाधारमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको कम्पनीले जनाएको छ ।

आफ्नै संरचनामा क्षति पुगे पनि ग्राहकलाई लामो समय इन्टरनेट सेवाबाट वञ्चित हुन नदिन कम्पनीले बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या उत्पन्न भए पनि वर्ल्डलिंकका प्राविधिक टोली प्रभावित क्षेत्रमा नेटवर्क मर्मत तथा पुनःस्थापनामा निरन्तर खटिएका थिए ।

वर्ल्डलिंकले विपद्को समयमा इन्टरनेट सेवा सूचना, सञ्चार, राहत, उद्धार तथा आपत्कालीन समन्वयको महत्वपूर्ण माध्यम भएकाले सेवा निरन्तरता दिनुलाई सामाजिक तथा राष्ट्रिय दायित्वका रूपमा लिएको जनाएको छ ।

कम्पनीले आफ्नै पूर्वाधारमा ठूलो क्षति व्यहोरेर पनि प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्नु मानवीय तथा राष्ट्रिय जिम्मेवारीअन्तर्गत गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?