काठमाडौं । रौतहट जिल्लाको सीमा नाकाबाट पछिल्ला दिनमा व्यापक तस्करी सुरु भएको छ ।
भदौ लागेलगत्तै नयाँ गणपतिका रूपमा गएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीको मिलेमतोमा तस्करी सुरु भएको जनाइएको छ ।
स्मरणीय के छ भने एक वर्षअघि नम्बर ११ गण रौतहटका गणपति सन्तोषकुमार बस्नेतलाई ६०० किलो चिनीकाण्डमा फिर्ता बोलाइएको थियो । बस्नेतलाई फिर्ता बोलाइएपछि गएका रामहरि अधिकारी खासै विवादमा नआए पनि उनीपछि गएका जोशी भने सुरुवातीदेखि नै विवादमा आएका छन् ।
केही दिनअघि मात्रै सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीको आदेशमा ईशनाथ नगरपालिकाको औरैयास्थित एक घरबाट ३५ लाख रुपैयाँभन्दा बढीको सामान जफत भएको थियो । यो पनि बाहिनीले भनेपछि मात्र रौतहटका एसपी जोशीले चासो लिएका थिए ।
रौतहट गएको १ महिना नपुग्दै उनले सीमा नाकामा मनलाग्दी गरेको स्रोतको दाबी छ । यसका लागि उनले गौरस्थित गुल्मका डीएसपी दुर्गा भट्टलाई सम्पूर्ण जिम्मा दिएको बुझिएको छ ।
अहिले एसपी जोशीको निर्देशन र डीएसपी भट्टको सेटिङमा व्यापक तस्करी बढेको स्रोतको दाबी छ । भट्टले आफू मातहतका बोर्डर आउन पोस्ट (बीओपी) हरूलाई पनि तस्करीका लागि सहयोग गर्न भन्दै फोन गर्ने गरेको एक बीओपी कमान्डरले बताए ।
‘अलि अलि नदेखेजस्तो गर्नु, काम गर्नु पर्छ भन्दै डीएसपी भट्टको फोन आउँछ, उता बाहिनीपतिले थाहा पाए के होला ?,’ बीओपीका एक कमान्डरले चिन्ता व्यक्त गरे ।
कतिसम्म भने तस्करीमा सहजीकरण गर्न डीएसपी भट्ट एकदिन आफै रामपुरखाप एरिया पुगेका थिए । त्यहाँका एक तस्करले सहयोग खोजेपछि उनी त्यहाँ पुगेको स्रोतको दाबी छ ।
‘उहाँ प्रायः कसैको मोटरसाइकल पछाडि बसेर हिँड्नु हुन्छ, त्यसरी उहाँलाई मोटरसाइकलमा लिएर हिँड्ने को हो, केही थाहा हुन्न,’ स्रोतले भन्यो ।
एसपी जोशीमाथि यसअघि जुम्लामा गणपति हुँदा पनि व्यापक मात्रामा कर्मचारी बिदामा छोडेर राशनमा बदमासी गर्ने गरेको आरोप लागेको थियो । जोशी सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया