काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण आवागमन प्रभावित भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको कान्ति लोकपथमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।
हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गरिरहेका छन् । हेटौँडाबाट काठमाडौं आउने मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गराउने र काठमाडौंबाट फर्किने खाली सवारी साधनलाई कान्ति लोकपथमार्फत हेटौँडा पठाउने व्यवस्था गरिएको छ ।
सवारी चापसँगै निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा सडक सञ्चालनमा चुनौती थपिएको छ । एकान्तकुना–टीकाभैरव–ठिङ्गन हुँदै हेटौँडा जोड्ने सडकमा चाप बढेपछि सवारी व्यवस्थापनसमेत कठिन भएको छ ।
कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर उपेन्द्र महराका अनुसार सडकलाई चलायमान राख्न जोखिमयुक्त क्षेत्रमा जनशक्ति तथा उपकरण परिचालन गरिएको छ । टीकाभैरवदेखि तीनपानेसम्म तीनवटा ह्विल एक्स्काभेटर र एउटा ब्याकहो लोडर परिचालन गरिएको छ ।
त्यस्तै, तीनपानेदेखि टार्कुचे खण्डमा निर्माण व्यवसायीमार्फत उपकरण परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ । टार्कुचेदेखि बागमती खोला (बगुवा) सम्मको जोखिमपूर्ण क्षेत्रमा तीनवटा एक्स्काभेटर र दुईवटा लोडर तयारी अवस्थामा राखिएका छन् ।
मकवानपुरतर्फ ठिङ्गनदेखि हेटौँडासम्मको सडक कालोपत्रे भइसकेकाले तुलनात्मक रूपमा सहज छ । यद्यपि लेबडाँडा र सिमाद खोला आसपासमा वर्षा हुँदा सामान्य अवरोध हुने गरेको इन्जिनियर महराले बताए ।
सडक विभाग, जिल्ला प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली सडक सुचारु राख्न निरन्तर खटिएको छ ।
विर्खेधारा खण्डमा पहिरो पन्छाउने काम गरिरहेका सब–कन्ट्रयाक्टर धनबहादुर लिम्बूका अनुसार वैशाखदेखि नै निरन्तर पहिरो खस्दा सडक सञ्चालनमा समस्या भइरहेको छ । अहिले दुईवटा एक्स्काभेटर र छवटा टिपर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सडक पूर्ण रूपमा अवरुद्ध हुन नदिन १०–१० मिनेट सवारी रोक्दै पहिरो पन्छाउने काम भइरहेको लिम्बूले बताए । तर पहिरोको माटो व्यवस्थापन गर्ने डम्पिङ साइटको अभाव तथा स्थानीय वन समिति र खानेपानी उपभोक्ताबाट भइरहेको अवरोधका कारण काममा ढिलाइ भएको उनको भनाइ छ ।
निर्माण व्यवसायी राजकुमार बुढाथोकीका अनुसार बाढी र पहिरोको जोखिम बढेपछि कान्ति लोकपथमा भइरहेका निर्माण कार्यसमेत ठप्प भएका छन् । करिब १५० मजदुर काम छाडेर बस्नुपर्ने अवस्था आएको उनले बताए ।
बगुवादेखि टीकाभैरवसम्मका छपेली, टार्कुचे र विर्खेधारालगायतका ठूला पहिरोका कारण सडक अझै जोखिमपूर्ण रहेको छ । अहिलेको विपद्को अवस्थामा कान्ति लोकपथलाई जसरी पनि चलायमान राख्नु मुख्य प्राथमिकता रहेको प्राविधिकहरूले बताएका छन् ।
पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म कान्ति लोकपथमा सवारी चाप कायमै रहने र त्यसपछि मात्रै रोकिएका निर्माण कार्य पुनः अघि बढाउन सकिने अवस्था रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया