काठमाडौं । वैदिक सनातन धर्मावलम्वीहरूले आज भगवान् श्रीकृष्णको जन्मोत्सव अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।
यस विशेष अवसरमा ललितपुरको पाटनस्थित ऐतिहासिक एवं प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ ।
मन्दिरमा दर्शन र पूजाअर्चनाका लागि श्रद्धालुहरूको लामो ताँती लागेको छ ।
पाटनका साथै काठमाडौको बूढानीलकण्ठस्थित कृष्ण मन्दिर र देशभरका अन्य कृष्ण देवालयहरूमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
धार्मिक विश्वासअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको थियो ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न वासुदेव र देवकीको कोखबाट उनको जन्म भएको मानिन्छ ।
आजको दिन श्रद्धालुहरू दिनभर व्रत बस्ने, श्रीकृष्णको आराधना गर्ने र मध्यरातमा उनको जन्म भएको समयमा विशेष पूजा गरी उत्सव मनाउने गर्दछन् ।
मन्दिरहरूमा भजनकीर्तन र कृष्णको महिमा गानसमेत भइरहेको छ । कृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया