बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले गर्‍यो ६ जनाको उद्धार

लोकपथ
728
Shares

काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धारका क्रममा हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ६ जनाको सकुशल उद्धार गरेको छ ।

सेनाका अनुसार गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी छ । रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वलगायतका क्षेत्रमा सेनाको ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ ।

लाङटाङ हाइड्रोपावरको टनेलमा नेपाली तथा विदेशीसमेत गरी २५ जनाको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ । टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी कार्यमा जुटेको सेनाले जनाएको छ ।

त्यस्तै, चिलिमे हाइड्रोपावरमा पनि नेपाली तथा विदेशीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ ।

त्रिशूली–३ ए आयोजनाको टनेलको आउटलेटमा जमेको लेदो र माटो हटाउने काम भइरहेको छ । ९३ जनाको संयुक्त उद्धार टोलीले पाँचवटा एक्साभेटर प्रयोग गरी रातभर काम गरेको थियो । टनेलभित्रको होल ठूलो बनाउन ब्लास्टिङ गरी सफा गर्ने कामसमेत गरिएको सेनाले जनाएको छ ।

त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ८९ जना, तीन गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ । आयोजनाको कार्यालय तथा निवास पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो बनाउन डोजर प्रयोग गरी माटो पन्छाउने र खन्ने काम भइरहेको छ ।

सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडाकाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै स्थानीयलाई सुरक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा पनि दिइरहेको जनाएको छ । त्रिशूलीपारि कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

स्याफ्रुबेंसी क्षेत्रमा पनि नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ । नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सम्भावित संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मी तथा डाक्टर अधिकृतहरूले सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छन् ।

सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले घाइते तथा बेपत्ताको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?