रसुवा बाढी अपडेट : मृतकको संख्या १,२५२ पुग्यो, ११ हजार ९९३ जनाको जीवितै उद्धार

लोकपथ
35
Shares

काठमााडौं । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी र त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २५२ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षतिको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो ।

प्राधिकरणकाअनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ, जसमा कतिपय मानव अङ्गहरू मात्र फेला परेका छन् । यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

विपद्मा परेका ११ हजार ९९३ जनालाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् । नेपाली सेनाले मात्रै हवाई उडानमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी गरी कुल ४ हजार ३६४ जनाको उद्धार गरेको छ । उद्धारका लागि सेनाले ७१५ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन् ।

बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । जसमध्ये विभिन्न अस्पतालमा ३०१ जनाको उपचार भइरहेको छ भने नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरहरूमा ३ हजार ९४८ जना आश्रित छन् ।

बाढीका कारण हालसम्म ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना स्थानीय बासिन्दा रहेका छन् । यस्तै, ५८३ विदेशी पर्यटक, जलविद्युत आयोजनाका करिब ९०० कर्मचारी, ४५ सैनिक, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सहित अन्य कर्मचारी र जनप्रतिनिधिहरू समेत बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

खोज तथा उद्धार कार्यका लागि देशभर २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।

विपद्का कारण अवरुद्ध भएका सञ्चार सेवाहरू क्रमशः सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावरले काम गर्न थालेका छन् । प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।

सरकारले प्रभावित जिल्ला र स्थानीय तहहरूका लागि तत्काल नगद राहतको घोषणा गरेको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको छ । यस्तै, प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

काठमाडौंबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हवाई मार्गबाट समेत राहत सामग्री ढुवानी भइरहेको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १३० पटक हवाई उडान गरी राहत सामग्री पुर्‍याएको छ ।

प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उद्धार गरिएका व्यक्ति र उपचाररतहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?