काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लामा ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार क्षतिग्रस्त ५३ पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने २० वटा सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् । पूर्ण रूपमा क्षतिग्रस्त पुल पुनर्निर्माण गर्नुपर्ने र सामान्य क्षति भएका पुलको मर्मत तत्काल अघि बढाइने विभागले जनाएको छ ।
बाढीका कारण पुल बगेपछि दुई बस्तीबीचको आवागमन सहज बनाउन विभागले पाँच स्थानमा अस्थायी तुइन जडान गर्न थालेको छ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित इन्द्रायणी चौरमा त्रिशूली नदीमाथि २५५ मिटर लामो तुइन सोमबारदेखि सञ्चालनमा आएको छ ।
यस्तै, बेलकोटगढीको देवीघाटमा १८० मिटर लामो तुइन मंगलबारदेखि सञ्चालनमा ल्याउने तयारी छ । बेत्रावती र रसुवाका थप तीन स्थानमा बुधबारदेखि तुइन जडानको काम सुरु हुने महानिर्देशक साहले बताए ।
सामान्य क्षति भएका २० पुलमध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका नौ पुलको मर्मत बुधबारदेखि सुरु गरिने विभागले जनाएको छ । आवश्यक ‘डेग’ (पाटा) बजारबाट खरिद गरी छिटो मर्मत सम्पन्न गर्ने लक्ष्य विभागको छ ।
पूर्ण रूपमा बगेका ३३ पुलको पुनर्निर्माणमा भने केही समय लाग्ने भएको छ। पुनर्निर्माणका लागि आवश्यक ‘लठ्ठा’ (स्टिल वायर रोप) मौज्दात नरहेकाले भारतबाट आयात गर्नुपर्ने र अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया अपनाउनुपर्ने साहले बताए ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीमा आएको प्राविधिक समस्याका कारण बोलपत्र प्रक्रिया ‘हार्ड कपि’बाट अघि बढाउनुपर्ने अवस्था रहेकाले पुनर्निर्माणमा केही ढिलाइ हुनसक्ने विभागको भनाइ छ ।
विभागले स्थानीय पूर्वाधार पुनर्स्थापनाका लागि झोलुङ्गे पुल मर्मतमा १५ करोड, पुल पुनर्निर्माणमा ६० करोड तथा अवरुद्ध ग्रामीण सडक खुलाउन र वैकल्पिक मार्ग निर्माणका लागि ४० करोड रुपैयाँ प्रारम्भिक लागत अनुमान गरेको छ ।
विभागले आगामी २० देखि २५ दिनभित्र मर्मत गर्न सकिने पुलको काम सम्पन्न गरी स्थानीयको आवागमन सहज बनाउने लक्ष्य राखेको छ । महानिर्देशक साहले राष्ट्रिय राजमार्गको तुलनामा ग्रामीण सडकमा क्षति कम भए पनि स्थानीय स्तरको पहुँच र आवागमन सुचारु गर्न विभाग केन्द्रित रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया