काठमाडौं । राष्ट्रियसभाले भोटेकोसी बाढी र त्यसपछिको विपद् व्यवस्थापनबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
,मंगलबार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको ‘विपद् आइसकेकाले समन्वयात्मक रूपमा राहत, उद्धार तथा विस्तृत व्यवस्थापन गर्ने’ सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रस्तावमार्फत भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा सम्पर्कविहीनहरूको खोजीलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । स्वदेशी तथा विदेशी विशेषज्ञ र प्राविधिकको परिचालन गरी खोजी तथा उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन पनि प्रस्तावमा आग्रह गरिएको छ ।
त्यस्तै, घाइतेको निःशुल्क उपचार, वैज्ञानिक ढंगले शव व्यवस्थापन तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरिएको छ ।
विशेष प्रस्तावमा तहगत सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्यमा विपद् व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्दै राष्ट्रिय एकताका साथ विपद् व्यवस्थापनको काम अघि बढाउन पनि सरकारको विशेष ध्यानाकर्षण गराइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो । राष्ट्रियसभाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
यस्तो छ विशेष प्रस्ताव
माननीय सदस्यहरू, मिति २०८३ साल भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिको दुखद् घडीमा ज्यान गुमाउने नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना, तथा सम्पर्क विहीनहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार र वैज्ञानिक शव व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरूबीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तराष्ट्रिय समुदायलगायत सबैको सहयोग सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न र भविष्यमा विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकारको विशेष ध्यान जावोस् भन्ने आग्रह सहित यो विशेष प्रस्तावलाई पारित गरिदिनु हुन अनुरोध गर्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया