आर्थिक सहयोगमा समेत ठगी गर्ने जमात सक्रिय, राष्ट्र बैंकले दियो ठगीबाट जोगिने तरिका

लोकपथ
28
Shares

काठमाडौं । रसुवागढी बाढीपछि सरकारले सार्वजनिक रुपमा आर्थिक सहयोगको अपिल गरेको छ । जसअनुसार संस्थागत र व्यक्तिगत तबरबाट समेत सहयोग उपलब्ध भइरहेको छ ।

हालसम्म विभिन्न संस्था र ठूलो सहयोगकर्ताले व्यक्तिगत रुपमै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेरै सहयोगको चेक हस्तान्तरण गरिसकेका छन् । भने धेरैले आफ्नो तर्फबाट सरकारले दिइएका विभिन्न बैंकका खाताहरुमा रकम जम्मा गरिरहेका छन् ।

सरकारले ती बैंकको क्यूआर दिएको छ, तर कतिपयले भने त्यसलाई गलत प्रयोग गरी अनधिकृत रुपमा सरकारी कोषको क्यूआरबाट पैसा आफ्नो खातामा जाने गरी ठगी गरिरहेका छन् ।

यसै विषयमा राष्ट्र बैंकले सरकारी कोषमा योगदान दिन चाहनेहरुलाई ध्यान दिन आग्रह गरेको छ ।

विभिन्न सुझावमुलक तरिकाहरु सुझाएको राष्ट्र बैंकले खाताको नाम अनिवार्य रुपमा यकिन गरेर मात्रै पैसा पठाउन भनेको छ । मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा अन्य कुनै माध्यमबाट रकम ट्रान्सफर गर्दा खाताको नाम ‘प्राइमिनिस्टर डिजास्टर रिलिफ फण्ड’ रहेको यकिन गर्न भनेको छ ।

यसैगरी कतिपय व्यक्तिले झुक्किएर आफूले चाहेको भन्दा बढी रकम ट्रान्सफर भएको भन्दै गुनासो गरिरहेका छन्, साथै फिर्ताका लागि प्रक्रिया समेत गरेका छन् ।

राष्ट्र बैंकले सरकारी कोषमा रकम सहयोग गर्न चाहनेहरुका लागि आफूले योगदान गर्न चाहेको रकम प्रवृष्ट गर्दा ध्यान दिन र त्यसको पुनः यकिन गर्न भनेको छ ।

धेरै व्यक्तिहरुले सामाजिक सञ्जालमा आएको क्यूआर कोड स्क्यान गरी रकम ठगीमा परेको गुनासो गरिरहेका छन् ।

यता राष्ट्र बैंकले भने सामाजिक सञ्जालमा आएको क्यूआर स्क्यान नगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएर त्यहाँ दिइएको क्यूआर स्क्यान गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?