काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धार प्रयास जारी छ ।
उद्धारका लागि आज बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने काम भइरहेको छ । सुरुङको मुखमा थुप्रिएको लेदो र भग्नावशेष हटाएर भित्र जाने बाटो बनाउने प्रयास भइरहेको हो ।

उद्धारका लागि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० जनासहित ८२ जनाको संयुक्त टोली खटिएको छ । उक्त टोली शुक्रबार रातिदेखि नै निरन्तर उद्धार कार्यमा जुटेको जनाइएको छ ।
तर, प्रभावित क्षेत्रमा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, उद्धारमा सहयोग गर्न नेपाल आएको भारतीय टोली पनि त्रिशूली पुगेको छ । भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा हवाई निरीक्षण गरेको छ ।
हवाई निरीक्षणबाट प्राप्त जानकारीका आधारमा आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया