काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि करिब ६७ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
एडीबीले तत्काल राहतका लागि ५० लाख अमेरिकी डलर अर्थात् करिब ६७ करोड रुपैयाँको आपत्कालीन अनुदान स्वीकृत गरेको हो ।
एडीबीका अध्यक्ष मासातो कान्डाले विपद्का बेला नेपाललाई सहयोग गर्न बैंक प्रतिबद्ध रहेको बताएका छन् । उनले बाढीका कारण धेरै परिवारले आफ्ना प्रियजन, घर तथा आधारभूत सेवा गुमाएकाले तत्काल राहत आवश्यक रहेको बताए ।
एडीबीका अनुसार सहयोग रकमबाट खोज तथा उद्धारका उपकरण, औषधि तथा चिकित्सा सामग्री, खाद्यान्न, पिउने पानी, अस्थायी आवास, सरसफाइका सामग्री र भग्नावशेष हटाउने काम गरिनेछ ।
यो सहयोग एडीबीको ‘एसिया प्रशान्त विपद् प्रतिक्रिया कोष’मार्फत उपलब्ध गराइनेछ ।
त्यस्तै, बाढी र पहिरोबाट भएको क्षतिको मूल्यांकन तथा पुनर्निर्माणको योजना बनाउन एडीबीले थप १ लाख ५० हजार अमेरिकी डलर सहयोगको प्रक्रिया अघि बढाएको जनाएको छ ।
एडीबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्र संघका निकाय र अन्य विकास साझेदारसँग मिलेर राहत तथा पुनर्निर्माणको काममा सहयोग गर्ने जनाएको छ ।
नेपालमा विपद् जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणका लागि लामो समयदेखि सहयोग गर्दै आएको एडीबीले आगामी पुनर्निर्माणका काममा पनि साथ दिने प्रतिबद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया