काठमाडौं । सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको जनाएको छ । सरकारले हालसम्म तत्काल ठूलो जोखिम नरहेको बताएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चीनसँग नियमित संवाद भइरहेको जानकारी दिए ।
उनका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग भइरहेको संवादमा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ । तर, नदी थुनिएको स्थानबाट पानी ओभरफ्लो हुन थालेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
मन्त्री पोखरेलले अहिले नदी थुनेको बाँध फुटेको अवस्था नरहेको स्पष्ट पारे । उनका अनुसार केही साना हिमताल फुट्दा विभिन्न स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको हो ।
तत्काल ठूलो विपद्को जोखिम नदेखिए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।
चीनबाट प्राप्त सूचनाका आधारमा सरकारले नदीको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।
सरकारले नदी किनारका बस्तीमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन र आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया