चितवनसम्म आइपुगेका शव आफन्तलाई बुझाउन प्रशासनले यसरी थाल्यो तयारी

लोकपथ
0
Shares

चितवन । रसुवा बाढीले बगाएर ल्याएका १ सय ३० जनाको शव चितवनस्थित नारायणी नदी किनारमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार बुधबारदेखि बिहीबार दिउँसो ४ बजेसम्म नारायणी नदी किनारमा १ सय ३० शव भेटिएका हुन् ।

बाढीले बगाएर ल्याएका शवको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित करिब एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय युवा, राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत बिहानैदेखि खोजी कार्यमा सहभागी छन् ।

ठूलो संख्यामा शव भेटिएपछि तिनको सुरक्षित व्यवस्थापनसमेत चुनौती बनेको छ । शव राख्ने ठाउँको अभाव भएपछि औद्योगिक प्रतिष्ठानको सरकारी भवनमा तापक्रम मिलाएर शव व्यवस्थापन गर्न थालिएको प्रशासनले जनाएको छ ।

धेरै शव पहिचान गर्न कठिन हुने अवस्थामा भेटिएकाले भरतपुर अस्पतालको शवगृहमा लगेर अनुहार सफा गरी पहिचानयोग्य बनाउने प्रक्रिया अघि बढाइएको छ । त्यसपछि शवको तस्बिर खिचेर नम्बर राख्दै व्यवस्थापन कक्षमा राखिने तयारी गरिएको छ ।

एसपी पौडेलका अनुसार आफन्तलाई प्रत्यक्ष रूपमा छुट्टाछुट्टै शव देखाउन सम्भव नभएकाले सफा गरिएको अनुहारको तस्बिरमार्फत पहिचान गराउने व्यवस्था मिलाइएको छ । हराइरहेका आफन्तको खोजीमा चितवन आउने परिवारसँग समन्वय गर्न प्रशासनले छुट्टै डेस्कसमेत स्थापना गरेको छ ।

यसैबीच, आफन्तको खोजीमा चितवन आउने व्यक्तिको बसाइ र खानाको व्यवस्थाका लागि चितवन होटल संघले सहयोग गर्ने भएको छ । जिल्ला प्रशासनसँगको समन्वयमा खोजीका लागि आउने आफन्तलाई निःशुल्क खाना तथा बसोबासको व्यवस्था मिलाउने तयारी गरिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?