आइएमई लाइफले बाढी प्रभावितका लागि १ करोड सहयोग गर्ने

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुःख व्यक्त गरेको छ ।

बाढी र डुबानका कारण ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुका साथै कैयौँ बेपत्ता भएका तथा बस्ती र पूर्वाधारमा क्षति पुगेर सयौँ परिवार विस्थापित हुनुपरेको भन्दै कम्पनीले प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेको छ ।

कम्पनीले विपद् प्रभावितको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।

नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाले गरिरहेको उद्धार तथा राहत प्रयासप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले आफ्नो सहयोगबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

आइएमई लाइफले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, संकट तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ ।

कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको शीघ्र खोजी, घाइतेको स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?