हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
उपसभामुख अप्सरा चापागाईंले मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत पाएको बताइन् ।
१०४ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ५३ जना सांसदको समर्थन आवश्यक पर्नेमा थापाले ५७ मत पाए ।
उपसभामुख चापागाईंका अनुसार बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६, नेकपा एमालेका २५ (उपसभामुखसहित) र राप्रपाका ७ जना सांसद उपस्थित भएकोमा थापालाई सबैले विश्वासको मत दिएका छन् । बैठकमा विपक्षी दलका कुनै पनि सांसद उपस्थित नभएकाले विपक्षमा शून्य मत परेको थियो ।
पािर्टीभित्रको आन्तरिक कलहका कारण राप्रपाले विश्वासको मत दिन्छ कि दिँदैन भन्ने चासोबीच उपस्थित सातै जना सांसदले विश्वासको मत दिए । राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका हुन् ।
सरकारलाई समर्थन गर्ने निर्णय गरेका राप्रपा संसदीय दल नेता थापासहित मन्त्री बनेका ३ जनालाई राप्रपा केन्द्रले कारबाहीसमेत गरेको थियो ।
१२ मध्ये राप्रपाका बाँकी ५ सदस्य बैठकमै उपस्थित भएनन् ।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक बहिष्कार गरेको छ । यसैगरी, विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद पनि बैठकमा अनुपस्थित रहे ।
उपसभामुख चापागाईंले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेकी छिन् ।
बैठकको टाइम टेबल
मतदान सुरु भएको समय : साँझ ७ः०६ बजे
मतदान सकिएको समय : ७ः२० बजे
मत सच्याउन दिइएको समय ७ः२० देखि ७ः२३ सम्म (३ मिनेट)
कुल सांसद : १०४ जना
कुल सहभागी सांसद : ५८ जना
विश्वासको पक्षमा मत : ५७
विपक्षमा मत : ०
तटस्थ मत : ०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया