पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा-चरवाको प्रदर्शन

लोकपथ
0
Shares

काठमाडौं । आफ्नो पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाहरूले मंगलबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् ।

नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त र्‍यालीमा मधेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

जनकपुरधामस्थित रेलवे स्टेशनबाट शुरु भएको विरोध र्‍यालीले नगरका मुख्य सडकहरूको परिक्रमा गरेको थियो ।

र्‍यालीपश्चात सहभागीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल ढोका अगाडि पुगेर धर्ना दिएका थिए ।

प्रदर्शनका क्रममा बोल्दै मुक्त हरवा–चरवा संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले मुक्त घोषणा गरे पनि आफूहरूको अवस्थामा सुधार नआएको गुनासो गरे ।

संघर्ष समितिका प्रतिनिधिहरूकाअनुसार सरकारले हरवा–चरवा प्रथा अन्त्य भएको घोषणा गरे पनि व्यवहारमा भने अझै धेरै व्यक्तिहरू भूमि, आवास र सामाजिक सुरक्षाबाट वञ्चित रहेका छन् । उनीहरूले घोषणाको कार्यान्वयन फितलो हुँदा मुक्त हरवा–चरवाहरू पुनः संकटमा परेको उल्लेख गरे ।

समितिले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । जसअन्तर्गत दोस्रो चरणको कार्यक्रमका लागि भदौ १० गते बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिने तयारी गरिएको छ । बुधबार नै प्रदेश सरकारलाई मागपत्र बुझाउँदै आफ्ना समस्या तत्काल सम्बोधन गर्न दबाब दिइने संघर्ष समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?