काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संस्था काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत विषयमा ध्यानाकर्षण गराउने भएको छ ।
मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग छिट्टै भेट गर्ने निर्णय गरेको हो। भेटमा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्थापनबारे छलफल गरिनेछ ।
बैठकले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद आशिका तामाङले फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि गरेको व्यवहारप्रति पनि आपत्ति जनाएको छ । यस विषयमा पनि प्रधानमन्त्रीलाई जानकारी गराउने फोरमले जनाएको छ ।
फोरमले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदादेखि नै उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल गर्दै आएको जनाएको छ । फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरेर नयाँ विकल्प खोज्ने विषयमा पनि पटक–पटक छलफल हुँदै आएको छ ।
फोरमले फोहोर व्यवस्थापन संघ, प्रदेश र स्थानीय तीनै तहको साझा जिम्मेवारी भएकाले दीर्घकालीन समाधानका लागि सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया