काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले यस वर्षको वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता केसीले भारी वर्षाका कारण झन्डै ८० जनाको मृत्यु, २०० जना घाइते, दर्जनौँ बेपत्ता हुनुका साथै करिब १ हजार ६ सय परिवार प्रभावित भएको बताए । उनले बलात्कार, हत्या र आत्महत्याका घटनाले समेत देश आक्रान्त बनेको भन्दै दुःख व्यक्त गरे ।
उनले विशेषगरी नुवाकोटका विभिन्न क्षेत्रमा वर्षाका कारण सडक, पुल तथा बस्तीमा ठूलो क्षति पुगेको बताए । काठमाडौं जोड्ने तथा मध्यपहाडी क्षेत्रको मुख्य प्रवेशद्वारका रूपमा रहेको ढिकुरेस्थित तादी पुल कटान भएपछि आसपासका बजार तथा बस्ती जोखिममा परेको उनको भनाइ छ ।
उनका अनुसार दुप्चेश्वरको मिश्रभञ्ज्याङ–घ्याङफेदी सडक, बालकुमारी–काम्चोक–देविथान, तादीको बाह्रबिसे, पञ्चकन्याको थप्रेक–रान्चे तथा शिवपुरीको सेराबगर क्षेत्रमा सडक, पुल र बस्तीमा ठूलो क्षति पुगेको छ ।
केसीले वर्षाबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त सडक तथा पुलको यथाशीघ्र मर्मत र पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया