अटो र स्कुल बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

लोकपथ
0
Shares

उदयपुर । मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

उदयपुरको बेलका नगरपालिका– ५, जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएका थिए । जसमध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी बमका अनुसार सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको बस एक–आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारका क्रममा बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र नाम, थर, उमेर तथा ठेगाना नखुलेकी अर्की एक महिलाको बिहान करिब ११ः४५ बजे उपचारको क्रममा ज्यान गएको डीएसपी बमले जानकारी दिए ।

दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन् । बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन् ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङ घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ भने तीन जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिएको जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न बस र चालक बेलका नगरपालिका– ५ का ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?