क्यानडामाथि ट्रम्पले लगाए ५० प्रतिशत भन्सार महसुल, अब क्यानडाको कदम के ?

लोकपथ
0
Shares

काठमाडौं । अमेरिका र क्यानडाबीच तीन दिनसम्म चलेको व्यापार सम्झौता वार्ता सहमतिबिना टुंगिएको छ । वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका सामानमा ५० प्रतिशत भन्सार महसुल लगाएका छन् ।

अमेरिकाले यसअघि नै नयाँ भन्सार महसुल लगाउने तयारी गरेको थियो । तर, सम्झौता गर्न सकियोस् भनेर ट्रम्पले समयसीमा तीन दिन थपेका थिए । त्यस अवधिमा पनि दुवै देशबीच सहमति हुन सकेन ।

अमेरिकाले क्यानडाको व्यापार नीतिले अमेरिकी कम्पनीलाई समान अवसर नदिएको आरोप लगाउँदै आएको छ । विशेषगरी गाडी, डेरी उत्पादन, मदिरा र काठको व्यापारमा दुई देशबीच लामो समयदेखि विवाद छ ।

अमेरिका क्यानडाको बजारमा आफ्ना गाडी, दूध, चिज र मदिरालगायत सामान सहज रूपमा बिक्री गर्न पाउनुपर्ने पक्षमा छ । तर, क्यानडाले आफ्नो डेरी उद्योग र अन्य क्षेत्रलाई संरक्षण गर्दै आएको छ ।

त्यस्तै, क्यानडाले अमेरिकाले स्टिल, आल्मुनियम, गाडी र काठमा लगाएको भन्सार महसुल हटाउन माग गरेको थियो । तर, अमेरिका ती शुल्क हटाउन तयार भएन ।

वार्ता असफल भएपछि अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) ले क्यानडाले राम्रो व्यापार सम्झौताको अवसर गुमाएको बताएका छन् । अमेरिकाका अनुसार केही विषयमा सहमति भए पनि महत्वपूर्ण विषयमा दुवै देशबीच कुरा मिल्न सकेन ।

अमेरिकाले नयाँ भन्सार महसुल लगाएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि जवाफी कदम चाल्ने बताएका छन् । उनले अमेरिकाले जति भन्सार लगाउँछ, क्यानडाले पनि त्यति नै मूल्य बराबरका अमेरिकी सामानमा भन्सार लगाउने बताएका छन् ।

यसले अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव थप बढ्ने देखिएको छ । दुवै देश एकअर्काका प्रमुख व्यापारिक साझेदार भएकाले नयाँ भन्सार महसुलले व्यापार र सामानको मूल्यमा असर पर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?