काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘ग्रिन रन’को महिला रि–रन शनिबार सम्पन्न गरेको छ ।
गत साउन ६ गते बीपी कोइराला स्मृति दिवसका अवसरमा आयोजना गरिएको ग्रिन रनमा प्राविधिक कारणले महिलातर्फको विजेता छनोट हुन नसकेपछि शनिबार पुनः महिला दौड आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउन राजनीतिक दलहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । जलवायु परिवर्तनका कारण हिमाल पग्लिने तथा नदी र हिमतालमा जोखिम बढ्दै गएको भन्दै उनले आगामी पुस्ताको जीवन सुरक्षित बनाउन हिमाल संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले जलवायु परिवर्तनसँगै महिला तथा बालबालिकाको सुरक्षा, बालश्रमको अन्त्य, जातीय विभेद, घरेलु हिंसा र लागुऔषधको समस्यालगायत सामाजिक समस्याविरुद्ध पनि राजनीतिक दलहरूले जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए ।
‘पृथ्वी जलवायु परिवर्तनबाट संकटमा छ । जनचेतना जगाएर जलवायु परिवर्तनबाट पृथ्वीलाई जोगाउनुपर्छ र आगामी पुस्तालाई राम्रो पृथ्वी हस्तान्तरण गर्नुपर्छ,’ शर्माले भने, ‘कार्बन उत्सर्जन घटाउँदै कार्बन सिङ्क बढाउने अभियानमा जुट्नुपर्छ ।’
राजनीतिको प्रमुख जिम्मेवारी समाजमा सबैले आत्मसम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु भएको उनको भनाइ थियो । बालबालिकाले विद्यालय जान पाउने, ज्येष्ठ नागरिकले परिवारमा सम्मान पाउने तथा महिला र बालबालिका सुरक्षित हुने वातावरण निर्माणका लागि राजनीतिक नेतृत्वले निरन्तर आवाज उठाउनुपर्ने उनले बताए ।
ग्रिन रनमा सहभागी महिलाहरूले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै ‘जस्टिस फर गरिमा’को नारासमेत प्रदर्शन गरेका थिए ।
नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जलवायु परिवर्तनले नेपालमा ठूलो असर पारिरहेको बताउँदै त्यसविरुद्ध सचेतना जगाउन महिलाहरू ग्रिन रनमा सहभागी भएको बताइन् ।
नेपाली कांग्रेसले साउन ६ गते आयोजना गरेको ग्रिन रनमा महिलातर्फको विजेता घोषणा गर्न नसकेपछि शनिबार महिला सहभागिताका लागि रि–रन आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया