जनकपुरधाम । जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले डोजर चलाउन सुरु गरेको छ । संस्थानले शुक्रबारदेखि जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट अतिक्रमित संरचना हटाउने अभियान थालेको हो ।
गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार पटक–पटक सूचना जारी गर्दै अतिक्रमित संरचना आफैँ हटाउन आग्रह गरिए पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर प्रयोग गरी संरचना हटाउन थालिएको हो ।
संस्थानले जनकपुरधामका सातवटा पोखरीमा भएको अतिक्रमणको लगत संकलन गरी जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ । लगत संकलनका क्रममा कतिपय पोखरी क्षेत्रमा ठूलो मात्रामा र कतिपय स्थानमा सामान्य अतिक्रमण भएको पाइएको झाले बताए ।
उनका अनुसार जनकपुरधाममा गुठी संस्थानअन्तर्गत ४९ वटा पोखरी रहेका छन् । पोखरी, मठमन्दिर तथा अन्य गुठीका जग्गामा भएको अतिक्रमण हटाउन गुठी संस्थानका प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।
समितिले संकलन गरेको विवरणका आधारमा प्रतिवेदन तयार गरी गुठी संस्थानको केन्द्रीय कार्यालयमा बुझाइसकेको छ । प्रमुख झाका अनुसार जनकपुरधाममा गुठी संस्थानको करिब २२ देखि २५ बिघा जग्गा अतिक्रमणमा परेको अनुमान गरिएको छ ।
रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा र बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अतिक्रमण भएको संस्थानको अनुमान छ । संस्थानले लगतमा परेका अन्य अतिक्रमित संरचना पनि क्रमशः हटाउँदै जाने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया