काठमाडौं । नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका डा.रामकण्ठ माकजू श्रेष्ठ र पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत विसं २०८१ को सम्मान धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजू श्रेष्ठ र विसं २०८२ को सम्मान पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो । विभिन्न कारणले दुई वर्षको सम्मान एकैपटक घोषणा गरिएको संघले जनाएको छ ।
डा.माकजू श्रेष्ठलाई धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा पुर्याएको योगदानका लागि सम्मान गर्न लागिएको हो । उनको नेतृत्वमा स्वास्थ्य सेवाको प्रभावकारिता, संस्थागत विकास तथा नागरिकप्रतिको उत्तरदायित्व सुदृढ बनाउन योगदान पुगेको संघको ठहर छ ।
त्यस्तै, पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनाललाई सार्वजनिक प्रशासन, नीति निर्माण तथा सेवा प्रवाहको स्तरवृद्धिमा पुर्याएको योगदानका लागि वि।सं। २०८२ को सम्मान प्रदान गर्न लागिएको हो । सार्वजनिक पदमा रहँदा उनले निर्वाह गरेको जिम्मेवारी तथा प्रशासन सुधारका क्षेत्रमा पुर्याएको योगदानलाई सम्मानको मुख्य आधार बनाइएको संघले जनाएको छ ।
सम्मान छनोटका लागि नेपाल सरकारका पूर्वसचिव तथा संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय छनोट समिति गठन गरिएको थियो । समितिले करिब तीन महिनासम्म अध्ययन गरी निश्चित मापदण्डका आधारमा गरेको सिफारिसलाई संघको कार्यसमितिले अनुमोदन गरेको हो ।
छनोट प्रक्रियामा सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता, संस्थागत नेतृत्व तथा जनसरोकारका विषयमा पुर्याएको प्रभावलाई प्राथमिकता दिइएको संघले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँगको साझेदारीमा नेपाल जनप्रशासन संघले वि।सं। २०५९ मा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको थियो । विसं २०६० देखि प्रदान गरिँदै आएको यस सम्मानमा दुई लाख रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिन्छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा स्थापना गरिएको यो सम्मान सार्वजनिक सेवामा व्यावसायिकता, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया