विदेशी पर्यटकले नेपालमा मास्टरकार्डबाटै क्युआर भुक्तानी गर्न सक्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि डिजिटल भुक्तानीलाई सहज र सुरक्षित बनाउने उद्देश्यले मास्टरकार्डले नेपालमा ‘पे लोकल’ सेवा सुरु गरेको छ ।

यसका लागि मास्टरकार्डले नेपालको डिजिटल वालेट तथा एकीकृत क्युआर भुक्तानी प्लेटफर्म ‘मोको’सँग सहकार्य गरेको हो ।

नयाँ सेवामार्फत विदेशी पर्यटकले आफ्नो मास्टरकार्ड ‘मोको ट्राभल एप’मा लिंक गरी नेपालभरका नेपालपे र फोनपे क्युआर मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन् । ‘मोको ट्राभल एप’ एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ ।

यस सेवाले पर्यटकलाई नेपालमा यात्रा गर्दा नगद बोक्ने, मुद्रा साट्ने वा प्रिपेड खातामा रकम जम्मा गरिरहने झन्झटबाट मुक्त गराउने अपेक्षा गरिएको छ । होटल, रेस्टुरेन्ट, खुद्रा पसल, स्थानीय बजारलगायत पर्यटकीय व्यवसायमा उपलब्ध क्युआरमार्फत भुक्तानी गर्न सकिनेछ ।

यसबाट स्थानीय व्यवसायीले पनि आफ्नो विद्यमान क्युआर पूर्वाधारमार्फत अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिन सक्नेछन् ।

मास्टरकार्डका कन्ट्री म्यानेजर सन्दुन हापुगोडाले अन्तर्राष्ट्रिय पर्यटकले यात्राका क्रममा सहज, सुरक्षित र सुविधाजनक भुक्तानीको अपेक्षा गर्ने बताए । मोकोमा उपलब्ध ‘पे लोकल’ सेवामार्फत पर्यटकले आफूसँग भएको मास्टरकार्ड नेपालको विस्तृत क्युआर इकोसिस्टममा प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

फोकसवान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले विदेशी पर्यटकको भुक्तानी अनुभवलाई सहज बनाउन मास्टरकार्डसँग सहकार्य गरिएको बताए । उनका अनुसार मोको ट्राभल एपमार्फत विदेशी पर्यटकले नेपालको क्युआर भुक्तानी प्रणालीमा सहज पहुँच पाउनेछन् ।

मास्टरकार्डले यसअघि चीन, इन्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंकामा ‘पे लोकल’ सेवा सञ्चालनमा ल्याइसकेको छ । विश्वका २०० भन्दा बढी देशमा सञ्जाल रहेको मास्टरकार्डले डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?