काठमाडौं । गरिमा विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनमा सरेको छ ।
यसअघि बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं २ स्थित लाजिम्पाटमा रहेको थियो । आजबाट काठमाडौं महानगरपालिका–३ स्थित बालुवाटारमा नवनिर्मित आफ्नै केन्द्रीय कार्यालयबाट काम सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नयाँ भवनको उद्घाटन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक २०६४ सालमा स्थापना भएको हो । छोटो समयमा नै देशभर शाखा विस्तार गर्न सफल भएको बैंकले आधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।
नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले विभिन्न वित्तीय संस्थाहरुसँग जोडिँदै हाल देशभर उपस्थिति जनाउन सफल भएको बैंकको सफलताको कथा सुनाए ।
उनले बैंकमा जम्मा भएको रकमलाई केवल वित्तीय स्रोतका रुपमा मात्र नहेरी ग्राहकहरुको विश्वाससँग जोडेर हेर्नुपर्ने बताए ।
‘निक्षेपकर्ताले बैंकमा पैसा मात्र होइन, आफ्नो भरोसा पनि राखेको छ,’ उनले भने ।
विभिन्न उकालीओराली पार गर्दै आफ्नै भवनमा केन्द्रीय कार्यालयबाट काम सुरु गरेको बैंकले संस्थागत सुशासन, पारदर्शिता र विश्वसनीयतालाई प्राथमिकता दिइएको बताइएको छ ।

उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बैंकलाई थप सफलताको शुभकामना दिँदै निक्षेपकर्ता तथा सेवाग्राहीको हितमा केन्द्रित रहेर काम गर्न आग्रह गरे ।
यस्तै बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपप्रताप खाँणले ग्राहक, निक्षेपकर्ता तथा शेयरधनीको विश्वासले नै बैंक यो अवस्थासम्म आइपुगेको बताए । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पारदर्शिता, संस्थागत सुशासन, टिम स्प्रीट र सकारात्मक सोचलाई आत्मसाथ गर्दै बैंकको संस्थागत विकासलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
हाल बैंकको देशका ३७ जिल्लाका १२६ शाखा सञ्चालनमा रहेका छन् । १ हजार ५२ जना कर्मचारी बैंकमा कार्यरत रहेका छन् भने संस्थासँग जोडिएका शेयरधनीको संख्या करिब एक लाख पुगेको छ ।
०६४ सालमा स्याङ्जाको वालिङबाट ९ जनाबाट सुरु भएको बैंकले शहरी क्षेत्र हुँदै गाउँबस्तीसम्म आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
बैंकको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा.विश्वनाथ पौडेलसँगै, धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल प्रसाद भट्ट, नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायका पदाधिकारीहरु, गरिमा विकास बैंकका संचालक समितिका सदस्यहरु, विकास बैकका पूर्व पदाधिकारीहरु, उच्च व्यवस्थापन पदाधिकारीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदस्थ पदाधिकारीहरु, विकास बैंकका शेयरधनीहरु, कर्मचारीहरु, ग्राहकहरु लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया