काठमाडौं । वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार उनलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन् ।
डा.पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्ष हुँदा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारेका थिए ।
उनले सरकारी अस्पतालको क्षमता बढाउँदै स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । साथै, भरतपुर अस्पताललाई आफ्नै कानुनी आधारमा राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको रूपमा विकास गर्नुपर्ने धारणा पनि राख्दै आएका थिए ।
अब काउन्सिलको अध्यक्षका रूपमा उनले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको आचारसंहिता र चिकित्सा शिक्षासम्बन्धी महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन् ।
डा.पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस र नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गरेका छन् ।
उनले यसअघि नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा पनि काम गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया