काठमाडौं । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने तयारी गरेको छ ।
उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट ऐन कार्यान्वयन गर्न लागेको हो ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८३ मंसिर १ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा ऐन लागू हुनेछ । त्यसपछि २०८३ माघ १ गतेदेखि उपत्यकाबाहेकका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा ऐन कार्यान्वयन गरिनेछ । गाउँपालिकामा भने २०८४ साउन १ गतेदेखि ऐन लागू गर्ने सरकारको तयारी छ ।
सरकारले यसअघि पनि हेटौंडा, सुर्खेतको वीरेन्द्रनगर र बुटवलका केही क्षेत्रमा सीमित रूपमा ऐन कार्यान्वयन गरिसकेको छ । अब भने त्यसलाई विस्तार गरेर देशभर लागू गर्न लागिएको हो ।
ऐन कार्यान्वयन भएपछि पशुको वध गर्नुअघि र वध गरिसकेपछि स्वास्थ्य परीक्षण गरिनेछ । साथै, व्यवस्थित वधशाला तथा वधस्थल सञ्चालन र स्वच्छ रूपमा मासु बिक्री गर्ने व्यवस्था लागू हुनेछ । यसले अस्वस्थ पशुको मासु बिक्री तथा अव्यवस्थित रूपमा हुने पशु वध नियन्त्रण हुने सरकारको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया