बैंकको कर्मचारी बनेर ओटीपी लिई रकम ठगी गर्ने चार जना पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । बैंकका कर्मचारी भएको बहाना बनाएर ग्राहकबाट ओटीपी (वन टाइम पासवर्ड) लिएर रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले बैंकिङ विवरणको दुरुपयोग गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई लक्षित गरी ठगी गर्ने समूह सञ्चालन गर्दै आएका थिए । बैंकिङ सेवासँग सम्बन्धित समस्या समाधान गरिदिने भन्दै पीडितलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले ‘बैंकबाट फोन गरेको’ भन्दै केवाईसी अपडेट गर्नुपर्ने बताउने र त्यस क्रममा मोबाइलको स्क्रिन सेयर गर्न लगाएर ओटीपी कोड प्राप्त गर्ने गरेको प्रहरीले जनाएको छ । ओटीपी प्राप्त गरेपछि सम्बन्धित व्यक्तिको बैंक खातामा अनधिकृत पहुँच बनाई रकम अन्य खातामा स्थानान्तरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

साइबर ब्युरोले बैंक तथा वित्तीय संस्थाले फोनमार्फत ओटीपी, पासवर्ड वा अन्य संवेदनशील विवरण नमाग्ने भएकाले यस्ता फोन तथा सन्देशबाट सावधान रहन आग्रह गरेको छ ।

पक्राउ परेकाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?